तुलसीपुर दुर्घटना : ट्रिपरको ठक्करबाट बाबुछोराको ज्यान गयो, श्रीमती घाइते
दाङ । दाङको तुलसीपुरस्थित गुल्म चोकमा सोमबार बिहान भएको सडक दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्।
प्रहरीका अनुसार रा १ ख २१९२ नम्बरको ट्रिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिरान्स नेपाली गम्भीर घाइते भएका थिए।
घाइते बाबुछोरालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारका लागि लैजाँदै गर्दा मिरान्सको बाटोमै मृत्यु भएको थियो भने मनोजको उपचारका क्रममा नेपालगञ्जमा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रिपर र चालक शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।...



