दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ जानकीटोल क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूबाट खुकुरी चुरोटको बट्टाभित्र लुकाइराखिएको अवस्थामा दुई पुडिया ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। तौल गर्दा उक्त पदार्थ ३४० मिलिग्राम रहेको पाइएको छ।
यस्तै, वडा प्रहरी कार्यालय घोराहीबाट स्वीप अपरेशनमा खटिएको टोलीले घोराही–१४ नयाँबजार क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा दुई साना पुडियामा राखिएको ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद भएको पदार्थ गरी कुल ४२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषध फेला परेको छ। पक्राउ परेका ६ जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङमा पछिल्लो समय लागुऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। केही दिनअघि तुलसीपुरबाट पनि लागुऔषधसहित पाँच जना पक्राउ परेका थिए। प्रहरीले लागुऔषधको कारोबार र प्रयोगविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ।