काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ।
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले विज्ञहरूसँगको परामर्श र अध्ययनका आधारमा जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गरी सम्भावित विपद्को जोखिम कम गर्ने योजना बनाइएको बताएका छन्। आवश्यक परे ब्लास्टिङलगायतका प्रविधिबारे पनि छलफल भइरहेको उनको भनाइ छ।
कुन हिमतालमा तत्काल काम गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। जोखिमको अवस्था अध्ययन गरी प्राथमिकताका आधारमा निर्णय गरिने मन्त्रालयले जनाएको छ।
नेपालमा २१ वटा हिमताल जोखिमयुक्त रहेको अध्ययनले देखाएको छ। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेका छन्।