दाङ – नेकपा (बहुमत) को ५ नम्बर ब्यूरोले आगामी असोज ५ गते हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने निर्णय गरेको छ।
ब्यूरो इन्चार्ज तिलक पुनका अनुसार विकसित राजनीतिक परिस्थिति तथा पार्टीले वर्तमान समयमा पूरा गर्नुपर्ने कार्यभारलाई ध्यानमा राख्दै राष्ट्रिय सम्मेलनमा सहभागी हुने निर्णय गरिएको हो।
उनले पार्टीको ९औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले असोज ५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उक्त सम्मेलन सम्पन्न गर्नु पार्टीको कर्तव्य भएको बताएका छन्।
यसैबीच, ५ नम्बर ब्यूरोको आज बसेको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने विषयमा एकमतले निर्णय गरेको पुनले बताएका छन्।
उनले क्रान्ति र आन्दोलनको इतिहासलाई जनसमुदायले विभिन्न कोणबाट मूल्याङ्कन गर्ने उल्लेख गर्दै कठिन परिस्थितिबीच पनि भविष्यका लागि आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।
पुनले आफूले लिएका केही निर्णय कतिपयका लागि अप्रिय हुन सक्ने स्वीकार गर्दै ती निर्णय देश, जनता र क्रान्तिको सुन्दर भविष्यका लागि मार्गदर्शक बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।