धादिङ — भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको गरगहना फेला परेपछि त्यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी नगराएको आरोपमा धादिङका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–६ बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई बाढीले बगाएर ल्याएका गरगहनासहित नियन्त्रणमा लिइएको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो। सोही क्रममा बगेर आएको गरगहना तामाङले भदौ ११ गते फेला पारेको प्रहरीको भनाइ छ।
बाढीपछि फेला परेको उक्त सामानबारे तामाङले जानकारी नगराई घरमै राखेको भन्ने सूचना पाएपछि बोगटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आदमघाटस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय गजुरीबाट चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।