दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई उच्च अदालत तुलसीपुरले पुनर्बहाली गर्ने आदेश दिएको छ। अदालतको आदेशसँगै उनी पुनः वडाध्यक्षको जिम्मेवारीमा फर्किने भएका छन्।
शाहले आफ्नो वडाका लागि मागअनुसार बजेट उपलब्ध नगराएको भन्दै तत्कालीन समयमा मेयर नरुलाल चौधरीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै नेकपा एमाले बाट निर्वाचित मेयर नरूलाल चौधरीले तपाईले दिएको राजिनामा स्वीकृत भएको भन्दै कार्यपालिका बैठकमा सहभागी हुन भएका थिएनन् । तर वडाअध्यक्ष शाहले आफुले राजिनामा बुझाएकोमा हस्ताक्षर नगरिएको बताएका थिए ।
उक्त निर्णयविरुद्ध शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए। अदालतले अन्ततः उनको पक्षमा फैसला गर्दै पदमा पुनर्बहाली गर्न आदेश दिएको हो।
अदालतको आदेशपछि प्रतिक्रिया दिँदै शाहले लामो कानुनी संघर्षपछि न्याय प्राप्त भएको बताएका छन्। उनले करिब १० महिनाअघि आफूलाई पदबाट हटाइए पनि अन्ततः अदालतले न्याय दिएको उल्लेख गर्दै अब पुनः वडाध्यक्षको जिम्मेवारी सम्हालेर जनताको सेवामा लाग्ने बताए।
उनले भने, “लामो संघर्षपछि न्यायको जित भएको छ। उच्च अदालतको आदेशले मलाई पुनः जनताले दिएको जिम्मेवारीमा फर्काएको छ। अब वडाको विकास र जनताको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नेछु।”