काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्ब रुपैयाँ ऋणको विरोध गरेको छ।
पार्टीका महासचिव गौरवद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त ऋणलाई “सार्वभौमसत्तामाथिको प्रहार” भन्दै यसको औचित्यबारे जनतालाई स्पष्ट पार्न माग गरिएको छ। विज्ञप्तिमा विदेशी ऋणले देशलाई आत्मनिर्भर बनाउने होइन, बरु परनिर्भर बनाउने दाबी गरिएको छ।
पार्टीले विदेशी ऋण लिनुको सट्टा आन्तरिक स्रोत परिचालन, श्रमदान र उत्पादनमा आधारित विकास मोडेल अपनाउन सरकारलाई आग्रह गरेको छ। ऋण लिएर कुनै पनि देश विकास भएको उदाहरण छैन, विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू जस्तै INF/ADB लाई आधुनिक आर्थिक हतियार का रूपमा चित्रण गर्दै यस्ता संस्थाबाट लिइने ऋणले देशको नीति र निर्णयमा बाह्य हस्तक्षेप बढाउने चेतावनी दिइएको छ।