काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुलातर्फ प्रस्थान गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई पनि श्रमदानमा सहभागी हुन आह्वान गरेका छन्।
विदेशी ऋणभन्दा स्वदेशी श्रम र जनशक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा पुल निर्माण गर्ने योजना रहेको बताएका छन्। करिब ८० मिटर लामो पुल निर्माणका लागि भोलि शिलान्यास गर्ने तयारी छ।
पुलका लागि हालसम्म देश–विदेशबाट करिब १ करोड १२ लाख रुपैयाँ संकलन भइसकेको छ भने उनी १५ जना श्रमदातासहित त्यसतर्फ गएका छन्।