काठमाडौं — नेकपा (बहुमत) सम्बद्ध विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरूले देशमा देखिएको ग्यास अभाव तत्काल समाधान गरी आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले ग्यासको अभावका कारण सर्वसाधारण उपभोक्ता, विद्यार्थी तथा श्रमिक परिवारहरू प्रभावित भएको उल्लेख गरेका छन्। ग्यास नपाउँदा खाना पकाउन कठिन भएको र सर्वसाधारणले महँगीको थप मार खेप्नुपरेको उनीहरूको भनाइ छ।
वक्तव्यमा समस्याको समाधान गर्नुको सट्टा सरकारका मन्त्री तथा ग्यास उद्योगी–व्यवसायीहरूले एक–अर्कामाथि दोषारोपण गरेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइएको छ।
मोर्चाले तत्काल ग्यास आपूर्ति सहज बनाउन, कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, जनतालाई ग्यास अभावको समस्यामा पार्ने गैरजिम्मेवार सरकारविरुद्ध जनतालाई संघर्षमा उत्रिन आह्वान गर्दै आवश्यक परे जनसंघर्षको नेतृत्व गर्ने चेतावनीसमेत दिएको छ।
“ग्यास आपूर्ति सहज गर, कालोबजारी नियन्त्रण गर !” भन्ने नारासहित जारी वक्तव्यमा विभिन्न १२ जनवर्गीय संगठन तथा राष्ट्रिय मुक्ति मोर्चाका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।