दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल्ला सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ।
बैठकमा जिल्ला सेक्रेटरी सजक, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहरा लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संगठन सुदृढीकरण, जनसरोकारका मुद्दा र आगामी कार्यक्रमबारे छलफल गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सजक ले सुकुम्बासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुनुपर्नेमा जोड दिँदै पार्टी सधैँ उत्पीडित र अधिकारविहीन समुदायको पक्षमा रहने बताए। उनले असार १३ गते हुने जिल्ला सम्मेलनलाई सफल बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर तयारीमा जुट्न पनि आग्रह गरे।
बैठकले जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई थप प्रभावकारी बनाउने तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णय समेत गरेको जनाइएको छ।