दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्।
निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उनको पद स्वतः रिक्त भएको जनाएको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित घिमिरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए।
दल परिवर्तन गरेको विषयमा एमालेले निर्वाचन आयोगलाई जानकारी गराएपछि कानुनी प्रक्रिया अनुसार उनको पद रिक्त गरिएको आयोगले जनाएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था छ।
सोही कानुनी प्रावधानअनुसार आयोगले जेठ २६ गते निर्णय गरी घिमिरेको पद खारेज गरेको हो।
यससम्बन्धी सूचना बुधबार गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको छ।