दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिरलाई भारतीय नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्न सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार भारतीय नागरिक आलम जोल्हालाई उक्त वडाको बासिन्दा भएको सिफारिस उपलब्ध गराई नागरिकता प्रक्रियामा सहयोग गरेको आरोपमा अनुसन्धान सुरु गरिएको हो।
यस प्रकरणमा वडाध्यक्ष अहिरसँगै वडासचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी तथा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।