काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई जनमुखी नभई ऋणमुखी भएको टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यमा बजेटले नेपाली जनतामाथि थप आन्तरिक तथा बाह्य ऋणको भार थोपर्ने दाबी गरिएको छ।
पार्टीले बजेटमा कृषि तथा औद्योगिक उत्पादन वृद्धि, बेरोजगारी समाधान र राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने ठोस योजना नभएको आरोप लगाएको छ। विदेशी लगानी र ऋणमा निर्भरता बढाउने नीतिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने समेत वक्तव्यमा उल्लेख गरिएको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बजेटलाई समाजवाद उन्मुख नभई दलाल तथा नोकरशाही पुँजीवादको पक्षपोषण गर्ने दस्तावेजको संज्ञा दिँदै यसबाट आम जनताको अवस्था सुधार हुने अपेक्षा गर्न नसकिने जनाएको छ।
