काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले दशकौँदेखि थाँती रहेको समस्या केही मिनेटमै समाधान हुने अपेक्षा नगर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूलाई उचित स्थानमा बसोबासको व्यवस्था गर्नुपर्ने सरकारको योजना रहेको बताए। स्थानीय सरकारमा रहँदादेखि नै सुकुमवासीलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन गर्नुपर्ने धारणा राख्दै आएको उनको भनाइ थियो।
उनले विगतमा बाढी, डुबान, फोहोर र स्वास्थ्य जोखिमका कारण खोलाकिनारमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ सार्नुपरेको स्पष्ट पारे। “पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउनु हो, त्यसपछि दीर्घकालीन व्यवस्थापनको काम अघि बढ्छ,” उनले संकेत गरे।
प्रधानमन्त्री शाहले भूमिसम्बन्धी समिति गठन भइसकेको र जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पनि चालु आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापनको कामलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाइसकेको उनले स्मरण गराए।
३५ वर्षमा समाधान नभएको समस्या ३५ मिनेटमै टुंगिन्छ भन्ने अपेक्षा यथार्थपरक हुँदैन,प्रधानमन्त्री शाहले भने, समाधान हुन्छ, तर त्यसका लागि केही समय र व्यवस्थित प्रक्रिया आवश्यक छ।