काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराई र पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी पनि चल्न सक्ने बताइएको छ।
आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र सुदूरपश्चिम, कर्णाली, गण्डकी लगायतका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।