काठमाडौं । लुम्बिनी प्रदेश सरकार चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि बजेट खर्चमा अपेक्षाकृत कमजोर देखिएको छ। वैशाख मसान्तसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको ३९ दशमलव ९१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत शीर्षक गरी हालसम्म १३ अर्ब ७९ करोड ९१ लाख ८५ हजार ९४२ रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट ल्याएको थियो। जसअन्तर्गत पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको थियो।
गत आर्थिक वर्षको यही अवधिमा भने प्रदेश सरकारको खर्च दर ४६ दशमलव ४६ प्रतिशत पुगेको थियो। यस वर्ष खर्च दर झन् घटेपछि विकास आयोजना कार्यान्वयन, योजना सम्पन्नता र बजेट व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।
आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि खर्चको गति सुस्त देखिनुले विकास निर्माणका काम प्रभावित हुने चिन्ता बढेको छ।