दार्चुलाको ब्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी मृत भेटिएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत शिक्षक, ठेकेदार र स्थानीयसहितका व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट १० दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
मृत्युअघि प्रधानाध्यापक धामीले फेसबुक स्टाटसमार्फत आफूलाई झुट्टा आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको उल्लेख गरेका थिए । घटनापछि दार्चुलाको शैक्षिक क्षेत्र आन्दोलित बनेको छ ।
प्रधानाध्यापक संघ र प्याब्सनले निष्पक्ष छानबिनको माग गर्दै ‘पेन डाउन’ कार्यक्रम घोषणा गरेका छन् भने ब्यास गाउँपालिकाले मंगलबार शोक बिदासमेत दिएको छ ।