काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद सुवेदीले आफूहरूलाई जानकारी नै नदिई नाम र हस्ताक्षर प्रयोग गरेर विज्ञप्ति निकालेको भन्दै सार्वजनिक आपत्ति जनाएका छन् ।
उनीहरूले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै धारणा सार्वजनिक गर्दै आफूहरू पूर्णबहादुर समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालमै सक्रिय रहेको स्पष्ट पारेका हुन् । साथै, अशोक सुवेदीले फैलाएको भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
केन्द्रीय सदस्य सीता गौतमले आफ्नो नाम अनुमति बिना विज्ञप्तिमा समावेश गरिएकोप्रति घोर आपत्ति जनाउँदै अशोक सुवेदीलाई राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र नगर्न चेतावनी दिएकी छन् । उनले आफू पार्टीको केन्द्रीय समितिमै रहेको र कुनै पनि भ्रममा नपर्न आग्रह गरेकी छन् ।
त्यस्तै समाजवादी युवा संगठन नेपालका अध्यक्ष आकाश कार्कीले पनि अशोक सुवेदीले नेतृत्व गरेको भनिएको समूहसँग आफ्नो संगठनको कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले नक्कली हस्ताक्षर प्रयोग गरेर आफू र संगठनलाई दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
कार्कीले सम्पूर्ण युवाहरूलाई भ्रममा नपरी राष्ट्रिय युवा अभियानमा एकजुट हुन अपिल गर्दै समाजवादी युवा संगठन नेपाल मूल पार्टीकै पक्षमा रहेको बताएका छन् ।

