काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्की सम्बन्धी विवादमा आन्तरिक छलफल तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि कार्कीसँग स्पष्टीकरण माग्ने तयारी गरिएको हो ।
नाइजेरियाकी २६ वर्षीया रिता अजुकोले आफू गर्भवती भएपछि कार्की सम्पर्कविहीन बनेको आरोप लगाएकी छन् । काठमाडौंको ठमेल क्षेत्रमा बस्दै आएकी उनले आफू आर्थिक समस्यामा परेको र दैनिक खर्च चलाउनसमेत कठिन भएको गुनासो गरेकी छन् ।
अजुको र कार्कीबीच लिभिङ रिलेसनमा बस्दै आएको दाबी गरिएको छ । उनले सार्वजनिक गरेका केही म्यासेजमा कार्कीले ‘माई वाइफ’, ‘माई लाइफ’ र ‘माई लभ’ जस्ता शब्द प्रयोग गरेको देखिन्छ । अस्पतालमा समेत पतिको नाममा कृष्ण कार्की उल्लेख गरिएको बताइएको छ ।
अजुकोका अनुसार गर्भवती भएको जानकारी पाएपछि उनले गर्भपतनको कुरा उठाएकी थिइन् । तर, कार्कीले त्यसका लागि सहमत नभएको र त्यसपछि भने सम्पर्कबाट टाढिएको आरोप उनले लगाएकी छन् ।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चासो बढेको छ । रास्वपाभित्र पनि सांसद कार्कीमाथि उठेका आरोपबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ । पार्टीले प्रारम्भिक रूपमा स्पष्टीकरण सोध्ने र जवाफ चित्तबुझ्दो नभए थप कारबाही प्रक्रियामा जाने संकेत दिएको छ ।
यसअघि पनि कार्की विवादमा तानिएका थिए । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको आगजनी घटनासँग उनको नाम जोडिएको भन्दै आलोचना भएको थियो । त्यही पृष्ठभूमिका बीच उनलाई उम्मेदवार बनाइएको विषयमा समेत त्यतिबेला प्रश्न उठेको थियो ।