काठमाडौँ । शंकर पोखरेल ले युवापुस्ताले नेतृत्वसँग अवसर र जिम्मेवारी माग्नु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । उनले नेतृत्व केवल उमेरका आधारमा नभई क्षमता, संगठन निर्माण गर्ने दक्षता र जनविश्वासबाट स्थापित हुने धारणा राखेका छन् ।
३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्र नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताए । तर आन्दोलनको समग्र नेतृत्व सम्हाल्न सक्ने राजनीतिक परिपक्वता र संगठनात्मक क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय “पुरानो पुस्ताले केही गरेन” भन्ने भाष्य समाजमा निर्माण गर्न खोजिएको उल्लेख गर्दै उनले त्यसबाट प्रभावित नहुन एमाले कार्यकर्तालाई आग्रह गरे । समाज र राष्ट्रको विकास केवल पुस्ता परिवर्तनको विषय नभई स्पष्ट राजनीतिक दृष्टिकोण र सक्षम नेतृत्वसँग जोडिएको उनको भनाइ थियो ।
पोखरेलले अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्दै अघि बढे मात्रै पार्टी र आन्दोलन दुवै बलियो बन्ने धारणा पनि व्यक्त गरे ।