दाङ । दाङस्थित बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था आर्थिक दबाबमा परेपछि खानेपानीको महसुल बढाइएको छ। संस्थाको ११औँ साधारणसभाले नयाँ महसुल दर लागू गर्ने निर्णय गरेको हो।
संस्थाका पदाधिकारीका अनुसार अब १२ हजार युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले मासिक एक सय ६० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि सोही दरमा एक सय रुपैयाँ मात्रै शुल्क लिइँदै आएको थियो।
खानेपानी आयोजनामा उपभोक्ताको सहलगानी जुटाउन संस्था ऋण लिन बाध्य भएको जनाएको छ। तुलसीपुर उपमहानगरपालिकाबाट करिब एक करोड १५ लाख रुपैयाँ सापटी र नगर विकास कोषबाट झन्डै ६ करोड ८९ लाख रुपैयाँ ऋण लिइएको संस्थाले जनाएको छ।
नगर विकास कोषतर्फ हालसम्म सावाँ–ब्याज गरी एक करोड २६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको भए पनि बाँकी ऋण तिर्न अझै कठिनाइ रहेको बताइएको छ। उपमहानगरपालिकाले पनि सापटी रकम फिर्ताका लागि ताकेता गरिरहेको संस्थाको भनाइ छ।
संस्थाका कोषाध्यक्ष वसन्त थापाका अनुसार वार्षिक आम्दानी करिब ७० लाख रुपैयाँ मात्रै भएकाले ऋण व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यही अवस्थाका कारण महसुल समायोजन गर्नुपरेको संस्थाले स्पष्ट पारेको छ।
करीब ३२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सहलगानी खानेपानी आयोजनामा नेपाल सरकारले ३० करोड ७३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। बाँकी २० प्रतिशत रकम उपभोक्ताको हिस्सामा परेपछि त्यसका लागि ऋण उठाइएको जनाइएको छ।
साधारणसभाले संस्थाको कार्यसमितिको कार्यकाल तीन वर्षबाट बढाएर चार वर्ष पुर्याउने निर्णय पनि गरेको छ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का ले साना खानेपानी संस्थालाई ठूला संस्थासँग समायोजन गरेर सञ्चालन गर्नुपर्ने धारणा राखे। उनका अनुसार यसो गर्दा राज्यको लगानी प्रभावकारी र दीगो बन्न सक्छ।