इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु इरानभित्र अशान्ति भड्काएर सत्ता कमजोर बनाउने योजना सफल नभएको भन्दै असन्तुष्ट बनेका छन्।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स को रिपोर्टअनुसार इजरायली गुप्तचर संस्था मोसाद ले युद्धको सुरुवातमा इरानभित्र जनविद्रोह गराउने रणनीति तयार गरेको थियो।
रिपोर्टमा उल्लेख भएअनुसार मोसाद प्रमुख डेभिड बार्निया ले इरानी उच्च अधिकारीको हत्या, गोप्य कारबाही तथा विपक्षी समूहलाई सहयोग गर्ने योजना प्रस्ताव गरेका थिए। उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष पनि प्रस्तुत गरिएको बताइएको छ।
अमेरिकी तथा इजरायली गुप्तचर विश्लेषकहरूले भने यस्तो योजनाबाट ठूलो जनविद्रोह हुने सम्भावना कम रहेको भन्दै सुरुदेखि नै शंका व्यक्त गरेका थिए। इरानमा कडा सुरक्षा नियन्त्रण, अघिल्ला आन्दोलनहरू दमन गरिएको अनुभव र जनतामा रहेको डरका कारण अपेक्षित विद्रोह नउठेको रिपोर्टमा उल्लेख छ।
रिपोर्टका अनुसार पछिल्ला बैठकहरूमा नेतन्याहुले “हावाबाट क्रान्ति गर्न सकिँदैन, त्यसका लागि जमिनमा शक्ति चाहिन्छ” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
योजनामा उत्तरी इराकमा रहेका इरानी कुर्द समूहलाई प्रयोग गर्ने विकल्पसमेत छलफल भएको थियो, तर अमेरिकी अधिकारीहरूले सफल हुने सम्भावना कम भएको निष्कर्ष निकाल्दै पछि हटेका थिए।
त्यस्तै, मोसादभित्र पनि रणनीतिका विषयमा मतभेद रहेको जनाइएको छ। पूर्व प्रमुख योसी कोहेन सत्ता परिवर्तनको योजनाभन्दा इरानको परमाणु कार्यक्रम कमजोर पार्ने रणनीतिमा केन्द्रित हुनुपर्ने पक्षमा रहेको बताइएको छ। news.24kat.com