दाङ । दाङको घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा मंगलबार चर्चित गायिका रचना रिमालले आफ्नो सशक्त प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन दिएकी छन्। महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत उनले स्टेज उत्रिएसँगै दर्शकको उत्साह चुलिएको थियो भने उनको प्रस्तुति भरि दर्शक झुम्मिएको देखिन्थ्यो।
रचना रिमालले करिब आधा दर्जनभन्दा बढी आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिइन्। उनले “सम्झिने पानी छम्किने”, “उनको प्रीति”, “फोटो फिरिम्मा”, “तिम्रो मायाले बाँधेर राख”, “नबोली नबोली”, “आँखैमा राख्छु”, “पानी पर्यो असिना झरायो”, “माया पिरती”, “मिनरल वाटर” लगायतका गीतहरू गाएर माहोल तताएकी थिइन्। उनका हरेक गीतमा दर्शकले साथ दिँदै नाचगान गरेका थिए।

विशेषगरी युवापुस्तामाझ अत्यन्तै लोकप्रिय रचनाको प्रस्तुति हेर्न दर्शकको ठूलो भीड लागेको थियो। उनको ऊर्जा र मिठो स्वरले महोत्सव परिसर नै संगीतमय बनेको थियो। स्टेजमा उनको आत्मविश्वासपूर्ण प्रस्तुति र दर्शकसँगको अन्तरक्रियाले कार्यक्रमलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।
महोत्सवमा दैनिकजसो राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति भइरहेकाले दर्शकको उपस्थिति उल्लेखनीय देखिएको छ। सांस्कृतिक कार्यक्रमले महोत्सवलाई अझ जीवन्त बनाइरहेको छ।
यसैबीच, बुधबारका लागि पनि आकर्षक सांगीतिक प्रस्तुति तय गरिएको छ। लोकदोहोरी गायिका टीका सानुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो। टिकाका गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय रहेका छन्।
बुधबारको कार्यक्रममा टीका सानुसँगै चन्द्र शर्मा, कमल बिसी ‘माइल दाइ’ लगायतका कलाकारहरूको समेत प्रस्तुति रहनेछ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको निरन्तर प्रस्तुति रहने भएकाले महोत्सव अझ रोमाञ्चक बन्दै जाने अपेक्षा गरिएको छ।