अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले सुरु गरेको इरानसँगको युद्धको उद्देश्यबारे अमेरिकी नागरिकहरू पहिलेभन्दा बढी अन्योलमा परेको एक नयाँ सर्वेक्षणले देखाएको छ।
सीबीएस न्युज र युगोभ ले मार्च १७ देखि २० सम्म गरेको सर्वेक्षणमा सहभागी करिब ३,३०० जनामध्ये ६८ प्रतिशतले इरानमाथि आक्रमण गर्नुको स्पष्ट उद्देश्य सरकारले अझै नबताएको बताएका छन्।
यसअघि मार्च २ देखि ४ सम्म गरिएको समान सर्वेक्षणमा ६२ प्रतिशतले लक्ष्य स्पष्ट नभएको बताएका थिए। त्यसबेला ३८ प्रतिशतले उद्देश्य स्पष्ट भएको बताएका थिए भने अहिले यो संख्या घटेर ३२ प्रतिशतमा पुगेको छ।
राष्ट्रपति ट्रम्पले युद्धको उद्देश्य इरानको नौसेना कमजोर बनाउने, मध्यपूर्वका छिमेकी देशमाथि आक्रमण गर्न नसक्ने बनाउने तथा इरानलाई परमाणु हतियार बनाउन नदिने रहेको बताएका थिए। तर इरानले वास्तवमा अमेरिकालाई कति खतरा दिएको थियो भन्ने विषयमा अझै प्रश्न उठिरहेका छन्। गत साता सिनेटको गुप्तचर समितिको सुनुवाइमा राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्ड ले इरानले गत वर्ष अमेरिकी आक्रमणमा क्षति पुगेका परमाणु संरचना पुनःनिर्माण गरिरहेको प्रमाण नभएको संकेत गरेकी थिइन्।
युद्धको आधिकारिक लक्ष्यमा नभए पनि ट्रम्पले इरानको नेतृत्व परिवर्तन चाहेको संकेत दिने अभिव्यक्ति दिएका छन्। मार्चको सुरुतिर गरिएको अर्को सर्वेक्षणमा ८० प्रतिशतले ट्रम्प इरानको शासन परिवर्तन चाहेको बताएका थिए।
युद्ध कति समय चल्ने भन्ने विषयमा पनि प्रशासनभित्रै फरक–फरक भनाइ आएका छन्। ट्रम्पले सुरुमा ४–५ हप्ता लाग्न सक्ने बताएका थिए भने रक्षा मन्त्री पिट हेगसेथ ले युद्धको कुनै निश्चित समयसीमा नभएको बताएका थिए।
ट्रम्पले अमेरिकाले आफ्नो लक्ष्य पूरा गर्न नजिक पुगेको दाबी गरे पनि उनले “निर्विवाद आत्मसमर्पण” भन्दा कममा सम्झौता नहुने बताएका छन्। तर पछिल्ला अभिव्यक्तिहरूमा उनले लक्ष्य अपेक्षाभन्दा छिटो पूरा भएको भन्दै युद्ध अन्त्यतिर जान सक्ने संकेत दिएका छन्, यद्यपि त्यसले युद्धविराम भने नहुने बताएका छन्।
युद्धको उद्देश्यबारे अस्पष्टता बढ्दै जाँदा ट्रम्पकै दलका नेताहरूले पनि आलोचना गरेका छन्। रिपब्लिकन सिनेटर थोम टिलिस ले एबीसी न्यूजसँग भने, “मुख्य लक्ष्य के हो भन्ने मलाई थाहा छैन, र यो गम्भीर समस्या हो।”
सर्वेक्षणअनुसार धेरै अमेरिकीहरू इरानसँगको द्वन्द्व सकेसम्म छिटो अन्त्य हुनुपर्ने पक्षमा छन्। आधाभन्दा बढीले इरानमा अमेरिका समर्थक नेतृत्व स्थापना गर्नु महत्वपूर्ण नभएको बताएका छन्।
युद्ध छोटो समयमै सकिन्छ भन्नेमा पनि धेरैलाई विश्वास छैन। ३७ प्रतिशतले युद्ध महिनौँसम्म चल्न सक्ने बताएका छन् भने १४ प्रतिशतले वर्षौँसम्म जारी रहन सक्ने अनुमान गरेका छन्। The Independent