अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान अब अमेरिकाका लागि खतरा नरहेको घोषणा गर्दै देश भित्रै नयाँ ‘सबैभन्दा ठूलो दुश्मन’को रुपमा डेमोक्र्याट पार्टीलाई औँल्याएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “इरानको अन्त्य भएपछि अब अमेरिकामा सबैभन्दा ठूलो दुश्मन डेमोक्र्याट हुन्।” यसअघि फेब्रुअरी २८ देखि अमेरिका–इजरायल सेनाबीच सुरु भएको द्वन्द्वमा सहयोगका लागि उनले नाटो र बेलायतसँग जोड मागेका थिए।
यसैबीच, ट्रम्पले अमेरिकी विमानस्थलमा आप्रवासन नियन्त्रण कडा गर्ने संकेत पनि दिएका छन्। उनले सोमबार, मार्च २३ देखि आईसीई (अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन) का अधिकारीहरू परिचालन गरिने चेतावनी दिएका छन्। उनका अनुसार, अवैध आप्रवासन र आन्तरिक सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको हो।
ट्रम्पको यस कदम र अभिव्यक्तिपछि अमेरिकी राजनीतिक दलहरूबीच विवाद बढ्ने अनुमान गरिएको छ। विपक्षी दलहरूले यसलाई लोकतान्त्रिक मूल्यविरुद्धको कदम भएको भन्दै आलोचना गरेका छन्।