काभ्रेपलाञ्चोक — उत्पादन राम्रो भए पनि बजार नपाउँदा काभ्रेपलाञ्चोकका किसान चिन्तित बनेका छन्। जिल्लाको पाँचखाल, मण्डनदेउपुर, नाला र पनौती क्षेत्रमा किसान यतिबेला धमाधम आलु खनिरहेका छन्, तर मूल्य घटेपछि बिक्रीमा समस्या भएको छ।
किसानका अनुसार अहिले आलु प्रतिकिलो ७ देखि १० रुपैयाँसम्ममा मात्र बिक्री भइरहेको छ, जबकि उत्पादन लागत नै १८–२० रुपैयाँ पर्ने बताइएको छ। व्यापारी खेतसम्म आउन छाडेपछि किसान आफैं बजार खोज्न बाध्य भएका छन्।
पाँचखालका किसान रामेश्वर सापकोटाले भाउ नपाउँदा आलु खन्ने कि नखन्ने अन्योल भएको बताए। “खनौँ भने भाउ छैन, नखनौँ भने कुहिने डर छ,” उनले भने। नगर कृषि शाखाका अनुसार पाँचखाल क्षेत्रमा मात्रै करिब ७० हजार रोपनीमा आलुखेती गरिएको छ। मूल्य घटेकै कारण किसानले करोडौँ रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने अनुमान गरिएको छ।
स्थानीय किसानले सरकारले बजार व्यवस्थापन, भण्डारण र प्रशोधन उद्योगको व्यवस्था गर्न नसकेसम्म यस्तै समस्या दोहोरिने बताएका छन्।