काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कांग्रेस तथा भ्रातृ-शुभेच्छुक संस्थाहरूले शान्ति प्रक्रिया, लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा कोइरालाले खेलेको भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनामा निर्णायक भूमिका खेलेका नेता मानिन्छन्।
२०५९ सालपछि तत्कालीन राजा ज्ञानेन्द्र ले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लाई पदबाट हटाएपछि सुरु भएको आन्दोलनमा कोइरालाले दलहरूलाई एकजुट गर्दै नेतृत्व गरेका थिए। २०६३ वैशाख ११ को जनआन्दोलन सफल भई संसद् पुनःस्थापना भएपछि उनी पुनः प्रधानमन्त्री बनेका थिए।
उनकै नेतृत्वमा माओवादीसँग शान्ति सम्झौता, हतियार व्यवस्थापन र संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। कांग्रेसका संस्थापक बीपी कोइराला को संविधानसभा सपना २०६४ मा पूरा भएको थियो भने २०६५ जेठ १५ मा राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक प्रक्रियामा पनि कोइरालाको नेतृत्व निर्णायक मानिन्छ।