आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकतम ३१ लाख रुपैयाँसम्म मात्र चुनावी खर्च गर्न पाउने भएका छन्।
निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार दुवै उम्मेदवारका लागि समान सीमा निर्धारण गरिएको हो। आयोगले सबै उम्मेदवारलाई तोकिएको सीमा भित्र रहेर प्रचार–प्रसार गर्न र निर्वाचनपछि खर्च विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ। तर झापा–५ जस्तो प्रतिस्पर्धी क्षेत्रमा वास्तविक खर्च करोडौँ रुपैयाँ पुग्ने अनुमान भइरहेका छन्।
अन्य क्षेत्रमा पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का लागि रुकुम पूर्वमा २७ लाख, गोरखा–२ का डा. बाबुराम भट्टराई र रौतहट–१ का माधवकुमार नेपालका लागि २९ लाख खर्च सीमा तोकिएको छ। सर्लाही–४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गगन थापाले पनि २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्।
क्षेत्र र मतदाता संख्याका आधारमा खर्च सीमा फरक–फरक तोकिए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन नहुँदा हरेक निर्वाचनमा खर्च सीमामाथि प्रश्न उठ्ने गरेको छ।