बाँके । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन, नेपाल जिल्ला समिति बाँकेले जिल्लामा मौलाउँदै गएको मिटरब्याज, लागूऔषध कारोबार, कालोबजारी, सरकारी जमिन अतिक्रमण, अस्पतालको लापरबाही र प्रशासनिक उदासीनताविरुद्ध कडा चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाइएको ध्यानाकर्षण पत्रमार्फत संगठनले बाँकेमा राज्य संयन्त्रकै संरक्षणमा मिटरब्याज, लघुवित्त र सहकारीमार्फत सर्वसाधारणको आर्थिक शोषण भइरहेको आरोप लगाएको छ। संगठनका अनुसार सयौँ नागरिक ऋणको आतङ्कका कारण घरबारविहीन र विस्थापित बन्न बाध्य छन् तर प्रशासन मूकदर्शक बनेको छ।
लागूऔषध, चरेस तथा अन्य नशालु पदार्थको खुलेआम कारोबारले बाँकेका युवाहरू मृत्युको मुखतर्फ धकेलिँदै गएको भन्दै संगठनले यसमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ। सरकारी जमिन अतिक्रमण गरी दलाल र पहुँचवालाले राज्य सम्पत्ति कब्जा गर्दा पनि प्रशासनले आँखा चिम्लिएको आरोप समेत संगठनले लगाएको छ।
बिज्ञप्तिमा भेरी अस्पताल र निजी अस्पतालहरूको गम्भीर लापरबाहीका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै दोषी अस्पताल र चिकित्सकमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ। त्यस्तै, मासु बजारमा हुने अमानवीय गतिविधि, नेपालगञ्ज क्षेत्रमा व्यापक कालोबजारी र सीमावर्ती क्षेत्रमा हुने तस्करीले आम नागरिकको जीवनस्तर थप कष्टकर बनेको संगठनको ठहर छ।
कम्युनिस्ट युवा संगठनले यी सबै समस्यामाथि तत्काल छानबिन गरी दोषीलाई कारबाही नगरे कडा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। संगठनका जिल्ला अध्यक्ष अरविन्द विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रशासनलाई जनताको पीडाप्रति जिम्मेवार बन्न अन्तिम चेतावनी पनि दिइएको छ।