दाङ । नेपाल मगर सङ्घ घोराही नगर कार्य समितिले माघी पर्वकाे अवसरमा घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ स्थलमा चेली पुज्ने कार्यक्रमको आयोजना गरेको छ ।
समितिका अध्यक्ष बेदबहादुर मगरका अनुसार कार्यक्रम माघे मेलाको सचिवालयमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ । चेली पुज्ने कार्यक्रमसँगै परम्परागत धनुषबाट तीर तारो हान्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
अध्यक्ष मगरले माघे पर्वको सांस्कृतिक महत्त्व र चेलीप्रतिको सम्मानलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै, मगर समुदायका चेलीसहित सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
घोराहीमा सञ्चालन भइरहेको माघे मेला–२०८२ ले स्थानीय संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ । मेला अवधिभर विविध सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।