पोखरा । महाविर नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै वर्तमान राज्य व्यवस्था, बैंक–मिटरब्याज पीडित, सुकुम्बासी तथा विस्थापित नागरिकका समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
प्रदेश इन्चार्ज क. चट्टान द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताले अपेक्षा गरेको परिवर्तन अझै पूरा हुन नसकेको उल्लेख गर्दै संसदीय व्यवस्थाले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था, मिटरब्याज, शैक्षिक र मेडिकल माफियाका कारण जनता पीडित बनेको दाबी गरिएको छ । साथै युवाहरू वैदेशिक पलायन हुन बाध्य भएको, किसानले उत्पादनको उचित मूल्य नपाएको र गरिब जनताको जीवन झन् कठिन बन्दै गएको उल्लेख गरिएको छ ।
माओवादीले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरूलाई उचित स्थानमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । भूकम्प तथा विकास निर्माणका नाममा विस्थापित बनेका नागरिकलाई उचित क्षतिपूर्ति र सहुलियत दिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विकासका नाममा जनतालाई विस्थापित गर्ने, उचित क्षतिपूर्ति नदिने तथा राज्यको स्रोत–साधन सीमित वर्गको हितमा प्रयोग भइरहेको आरोप लगाइएको छ ।
पार्टीले नेपाली जनताको हक, अधिकार र सुरक्षाका लागि संघर्ष जारी रहने बताउँदै जनपक्षीय आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।
