काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘ग्रीन आर्मी’को कानुनी हैसियत र गठनको आधारबारे प्रश्न उठाउँदै उक्त संरचना खारेज गर्न सरकारसँग माग गरेका छन्।
आचार्यले नेपालको संविधान तथा प्रचलित कानुनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलजस्ता सुरक्षा निकायलाई मात्र मान्यता दिएको उल्लेख गर्दै अन्य कुनै नाममा समानान्तर सैन्य वा अर्धसैनिक संरचना निर्माण गर्नु गम्भीर विषय भएको बताएका छन्।
उनले ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्य र कुन कानुनी प्रावधानका आधारमा गठन गरेको हो भन्ने विषयमा सरकारले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। संविधान र कानुनसँग बाझिने गरी त्यस्तो संरचना सञ्चालन भइरहेको भए तत्काल नियन्त्रणमा लिई खारेज गर्नुपर्ने उनको भनाइ छ।
आचार्यले धार्मिक, सामुदायिक वा अन्य कुनै पहिचानका आधारमा अलग सुरक्षा वा अर्धसैनिक संरचना निर्माण गर्ने प्रयास स्वीकार्य नहुने भन्दै राज्यले यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका छन्।