दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का ५ नम्बर ब्यूरो इन्चार्ज तिलक पुनले पार्टीभित्र देखिएको राजनीतिक तथा संगठनात्मक अन्तरविरोधलाई विभाजनतर्फ नलैजान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले विचार, कार्यदिशा, संगठन, कार्यशैली र राजनीतिक प्रश्नमा अन्तरसंघर्ष हुनु स्वाभाविक भए पनि त्यसलाई संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
पार्टीभित्रका असहमति सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र भावनात्मक कित्ताबन्दीका रूपमा प्रस्तुत हुँदा समस्या थप जटिल बन्ने तथा नेता–कार्यकर्तामा भ्रम र निराशा पैदा हुने उनको भनाइ छ।
आजको आवश्यकता आरोप–प्रत्यारोप, भावनात्मक कित्ताबन्दी र सामाजिक सञ्जालको जुहारी होइन,’ पुनले भनेका छन्, पार्टी, क्रान्ति र नेपाली जनताको भविष्य प्रति गम्भीर जिम्मेवारीबोध गर्नु हो।
उनले पार्टी विभाजनले कुनै पक्षको व्यक्तिगत विजय सुनिश्चित नगर्ने भन्दै यसले श्रमजीवी जनता, क्रान्तिकारी आन्दोलन र समाजवादी संघर्षलाई कमजोर बनाउने बताएका छन्।अन्तरसंघर्षको उद्देश्य पार्टी फुटाउनु नभई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई थप बलियो बनाउनु हुनुपर्ने उनको जोड छ।
पुनले आगामी राष्ट्रिय सम्मेलनलाई पार्टीभित्र देखिएका राजनीतिक, वैचारिक तथा संगठनात्मक अन्तरविरोध समाधान गर्ने महत्वपूर्ण थलो बनाउनुपर्ने बताएका छन्। व्यक्तिगत असन्तुष्टि र अनावश्यक कित्ताबन्दीबाट माथि उठेर नयाँ आधारमा पार्टी एकता सुदृढ गर्नुपर्ने उनको आग्रह छ। राष्ट्रिय विपत्तिका कारण देश संकटमा रहेको उल्लेख गर्दै पुनले अहिले पार्टीभित्रका असहमतिभन्दा जनताको पीडा ठूलो भएको बताएका छन्। धैर्य गरौँ, संयमता अपनाऔँ र एकताको पक्षमा दृढतापूर्वक उभिऔँ, उनले नेता–कार्यकर्तालाई अपिल गरेका छन्।