इतिहासले सोध्ने छ, ८३ को बाढी आउँदा बहुमत पार्टी के गर्दै थियो ?

सर्वप्रथम, २०८३ भदौ १० गते आएको विध्वंसकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। उक्त बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै, सरकारलाई उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई अझ तीव्र, प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौँ।

राष्ट्रिय विपत्तिको मारमा नेपाल

नेपाल २०७२ सालको विनाशकारी भूकम्पबाट भर्खरै उठ्दै थियो। संसारभर फैलिएको कोभिड–१९ महामारीले फेरि मुलुकलाई गम्भीर आर्थिक, सामाजिक र मानवीय संकटमा धकेल्यो। कोभिडको प्रभावबाट पूर्ण रूपमा तङ्ग्रिन नपाउँदै २०८० सालमा जाजरकोट–रुकुम केन्द्रबिन्दु भएको भूकम्पले अर्को ठूलो विपत्ति निम्त्यायो। त्यसको पुनर्निर्माण र पुनःस्थापना पूर्ण रूपमा सम्पन्न नहुँदै २०८३ भदौ १० गतेको प्राकृतिक विपत्तिले नेपाललाई पुनः कठोर प्रहार गरेको छ।

बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएको छ। क्षतिको यकिन तथ्याङ्कसमेत राज्यले तत्काल प्राप्त गर्न नसकिरहेको अवस्था छ। आफन्त गुमाएका नागरिकहरूको पीडा, विस्थापित परिवारहरूको संकट, रोजगारी तथा व्यवसाय गुमाएका नागरिकहरूको भविष्य, पुल तथा सडकमा भएको क्षतिले निम्त्याएको आवागमनमा अवरोध, उद्धार तथा राहतमा देखिएको ढिलासुस्ती, हप्तौँसम्म राहतको प्रतीक्षामा रहेका खाली पेटहरू र सम्भावित महामारीको जोखिम—यी सबैले राज्य र राजनीतिक शक्तिहरूसामु असाधारण ऐतिहासिक जिम्मेवारी खडा गरेका छन्।

यस्तो विषम परिस्थितिमा सिङ्गो राज्य, राज्यका संयन्त्रहरू तथा राजनीतिक दलहरू—जो राज्यसत्ताका वैकल्पिक स्टेकहोल्डरसमेत हुन्—आफ्ना आन्तरिक स्वार्थ, विवाद र गुटगत संघर्षमा अल्झिएर बस्ने होइन, पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा अग्रसर हुनुपर्ने हो। हरेक राजनीतिक दल र उसका कार्यकर्ताहरू पुनर्निर्माण तथा पुनःस्थापनाका लागि श्रम, सेवा र स्वयंसेवामा मन, वचन र कर्मले सहभागी हुनुपर्ने बेला हो। संकटमा राज्यलाई ढुकेर बस्ने होइन, सहकार्यको हात फैलाउने बेला हो।

राष्ट्रिय संकट र नेकपा (बहुमत) को विभाजन

नेकपा (बहुमत) ले जारी गरेका विभिन्न वक्तव्यहरूमा बाढीपीडितको उद्धार, राहत, रक्तदान, स्वयंसेवक परिचालनदेखि दीर्घकालीन सुरक्षित बस्ती निर्माणसम्मका विषय उठाइएका छन्। तर व्यवहारमा उक्त पार्टीका एकाध कार्यकर्ताबाहेक अपेक्षित स्तरको सक्रियता देखिन नसकेको अवस्था छ। विडम्बना के छ भने, यही राष्ट्रिय संकटको पृष्ठभूमिमा नेकपा (बहुमत) भित्र पुनः विभाजनको चित्र देखिएको छ। क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, विशेषतः नेपालको माओवादी आन्दोलनमा विभाजन कुनै नौलो विषय होइन। यहाँ पार्टीहरू वर्षातमा पानीका मुहान फुटेझैँ पटक–पटक फुटेका छन्। तर अहिलेको विभाजनले एउटा गम्भीर प्रश्न जन्माएको छ—के राष्ट्रिय विपत्तिले बहुमत पार्टीलाई विभाजित हुने समय दिएको हो? राष्ट्रिय विपत्तिलाई पार्टी विभाजनको उपयुक्त अवसरका रूपमा बुझ्नु र प्रयोग गर्नु सही हुन्छ? जनताको नेतृत्व र सेवा गर्न एकताबद्ध हुनुपर्ने बेला बेमौसममा विभाजनको बाजा बजाएर कम्युनिस्ट आन्दोलनले आफ्नो ऐतिहासिक अभिभारा पूरा गर्न सक्छ?के यस्ता नेता–कार्यकर्ताले कम्युनिस्ट आन्दोलन र श्रमजीवी वर्गप्रति न्याय गर्न सक्छन्? के उनीहरूले देश र जनताको न्याय, मुक्ति र स्वतन्त्रताको आन्दोलनलाई सफल र सार्थक बनाउन सक्छन्?यी प्रश्नको जवाफ सम्बन्धित पार्टीका हरेक नेता–कार्यकर्ताले दिनुपर्नेछ।त्यसैले हामी नेकपा (बहुमत) का हरेक नेता–कार्यकर्तालाई यस सम्पादकीयमार्फत आफू आफैँतिर फर्किन, चिसो पानी पिएर, ठण्डा दिमागले ऐनाअगाडि उभिन आग्रह गर्दछौँ।

नेकपा (बहुमत) ले पछिल्लो समय जारी गरेका फरक–फरक वक्तव्यहरू हेर्दा पार्टीभित्र लामो समयदेखि वैचारिक, संगठनात्मक तथा नेतृत्वसम्बन्धी अन्तरविरोध रहँदै आएको देखिन्छ।दीपक पक्षले कञ्चनमाथि अनुशासनहीनता, गुटबन्दी, स्वेच्छाचारी तथा पार्टी विधिविपरीत गतिविधिको आरोप लगाएको छ र त्यसलाई पार्टी विभाजनतर्फ धकेल्ने कदमका रूपमा चित्रित गरेको छ। अर्कोतर्फ अध्यक्षमण्डलका अध्यक्ष कञ्चन द्वारा गुणराजलाई पार्टी सदस्यताबाटै निष्कासन गर्ने तथा दीपकलाई अध्यक्षमण्डल लगायत सबै जिम्मेवारीबाट हटाउने निर्णयसम्म पुग्नु उक्त अन्तरविरोधको चरम उत्कर्ष बनेको देखिन्छ। यहाँ हाम्रो प्रश्न कसको वक्तव्य सही र कसको गलत भन्ने होइन। कसको पक्षमा बहुमत छ र कसको पक्षमा अल्पमत भन्ने पनि होइन। मुख्य सवाल हो—क्रान्तिकारी आन्दोलन वा पार्टीभित्रको आन्तरिक अन्तरविरोधको समाधान निष्कासन र पदमुक्ति नै किन बन्न पुग्छ?

अन्तरविरोधलाई राजनीतिक बहस, आलोचना–आत्मालोचना, तथ्यको परीक्षण र सामूहिक निर्णयमार्फत समाधान गर्न नसक्नु के हाम्रो संगठनात्मक संस्कृतिको गम्भीर कमजोरी होइन?विगतबाट शिक्षा लिने कि इतिहास दोहोर्‍याउने? नेकपा (बहुमत) को पुनर्गठनको पृष्ठभूमि पनि यस्तै एउटा घटनासँग जोडिएको छ। तत्कालीन नेकपाका महासचिव विप्लवले स्थायी समिति सदस्य कञ्चन र सुदर्शनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सार्वजनिक गरेका थिए। औपचारिक रूपमा त्यही निर्णय विभाजनको एउटा प्रमुख रेखा बन्यो र त्यसपछि नेकपा (बहुमत) पुनर्गठन भएको यथार्थ हाम्रो अगाडि छ।त्यस घटनाबाट शिक्षा लिँदै त्यस प्रकारको नकारात्मक विरासतलाई अहिले पुनः दोहोरिन दिनु हुँदैन थियो।

तत्कालीन समयमा निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने कार्यनीतिक प्रश्नलाई लिएर राजनीतिक बहस थियो। त्यस बहसलाई नकार्न सकिँदैन। तर त्यो बहस पार्टीभित्र र जनसमुदायबीच राजनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने विषय हुँदाहुँदै कारबाहीको डण्डा चलाइएपछि नेकपा (बहुमत) पुनर्गठन भएको ऐतिहासिक यथार्थलाई पनि बिर्सन मिल्दैन। इतिहासको विडम्बना यही हो—हामी विगतका विभाजनलाई गलत भन्दै नयाँ विभाजनलाई सही ठहर्‍याउने चक्रमा त फसिरहेका छैनौँ?

कम्युनिस्ट आन्दोलनको तागत बलियो आन्तरिक एकता, वैज्ञानिक विचार, संगठित शक्ति, वर्गपक्षधरता, अनुशासन र जनतासँगको जीवित सम्बन्धमा निहित हुन्छ।नेतृत्वहरूबीच विषयवस्तु र घटनाक्रमलाई बुझ्ने तथा बुझाउने सन्दर्भमा मतभेद हुनु स्वाभाविक हो। कम्युनिस्ट आन्दोलनमा अन्तरविरोधलाई पहिचान गर्ने, खुला बहस गर्ने, आलोचना–आत्मालोचना गर्ने र सामूहिक निर्णयमा पुग्ने विधि नै लेनिनवादी संगठनात्मक प्रणाली अर्थात् जनवादी केन्द्रीयता हो।

तर अन्तरविरोधलाई वैचारिक–राजनीतिक संघर्षबाट संगठनात्मक प्रतिशोधमा बदल्नु नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो रोग हो। यसले कम्युनिस्ट आन्दोलनलाई कमजोर मात्र बनाएको छैन, पटक–पटक रक्षात्मक बिन्दुमा समेत पुर्‍याएको छ।

आज विश्वभर समाजवादी तथा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको यथार्थलाई हाम्रो सामु छ। विश्व पुँजीवादले आर्थिक संकट, युद्ध, बेरोजगारी, असमानता, साम्राज्यवादी प्रतिस्पर्धा तथा वातावरणीय विनाशका नयाँ–नयाँ संकटहरू पैदा गरिरहेको छ। अर्कोतर्फ श्रमिक वर्ग र उत्पीडित जनतासामु ती समस्याको वैज्ञानिक तथा संगठित विकल्प प्रस्तुत गर्ने शक्तिहरू स्वयं विभाजित र कमजोर छन्।यस्तो अवस्थामा नेपालका क्रान्तिकारी कम्युनिस्टहरू पनि आपसी विवाद, टुटफुट र संगठनात्मक टकरावमै सीमित भइरहने हो भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।

अर्को एउटा पार्टी होइन, नयाँ कम्युनिस्ट केन्द्रको आवश्यकता

दीपक पक्षको राजनीतिक अस्तित्व रक्षा तथा नेतृत्वको हैसियतबाट कञ्चनले निर्वाह गरेको गलत र आत्मघाती भूमिकाका कारण अर्को एउटा कम्युनिस्ट पार्टी थपिन सक्ने सम्भावनालाई हामी नकार्दैनौँ। सम्भवतः परिस्थिति त्यस दिशामा जान सक्छ।तर इतिहासको माग अर्को एउटा सानो कम्युनिस्ट केन्द्र थप्नु होइन। इतिहासको माग हो—विभिन्न चिरामा छरिएर रहेका क्रान्तिकारी केन्द्र, शक्ति, समूह र व्यक्तिहरूलाई नयाँ वैचारिक, राजनीतिक तथा संगठनात्मक आधारमा एकताबद्ध गर्नु। बहुमत पार्टीभित्रको पछिल्लो विवाद र नेपाली कम्युनिस्ट, विशेषतः माओवादी आन्दोलनका आरोह–अवरोहका नकारात्मक विरासतहरूले हामीलाई गम्भीर पाठ सिकाएका छन्।

कम्युनिस्ट पार्टीको पुनर्गठन भनेको पुरानो नेतृत्वको ठाउँमा नयाँ नेतृत्व राख्नु मात्र होइन। पुरानो एकथान दस्तावेजको ठाउँमा अर्को एकथान दस्तावेज प्रस्तुत गर्नु मात्र पनि होइन। पुनर्गठन भनेको नयाँ राजनीतिक कार्यदिशा, नयाँ संगठनात्मक विधि, पुराना नकारात्मक विरासतको समग्र अन्त्य, नयाँ आर्थिक दृष्टिकोण, नयाँ राजनीतिक संस्कृति र हरेक नेता–कार्यकर्ताको पङ्क्तिमा त्याग, समर्पण, बलिदान, वर्गीय निष्ठा तथा इमानदारीको भावना विकास गर्नु हो।

त्यसैले अब कम्युनिस्ट पार्टी, आन्दोलन, संगठन र संस्कृतिको वास्तविक पुनर्गठनका लागि वैचारिक, राजनीतिक, संगठनात्मक र आर्थिक आधार निर्माण गर्दै जनतासँग जोडिने कार्यक्रम र स्पष्ट कार्यदिशासहित अगाडि बढ्न आवश्यक छ।नयाँ क्रान्तिकारी कार्यभार स्पष्ट राजनीतिक कार्यदिशा, वर्गसंघर्षको उपयुक्त मोडेल र त्यसअनुरूपको संगठनात्मक संरचना निर्माण गर्दै क्रान्तिका लागि आवश्यक तयारीलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ।
ती तयारीहरू मूलतः—
1. विचारधारात्मक तथा राजनीतिक तयारी
2. संगठनात्मक तयारी
3. आर्थिक तयारी
4. संघर्षको तयारी
5. विज्ञान तथा प्रविधिको तयारी
6. भूराजनीतिक तयारी
लाई योजनाबद्ध रूपमा अगाडि बढाउँदै पुँजीवादले थोपरेका संकटबाट नेपाललाई मुक्त गर्ने, राष्ट्रिय स्वाधीनता, समृद्धि, शान्ति र समानताको आधार निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अगाडि बढ्नु आजका क्रान्तिकारी कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हो।
यही नै नेपालका सच्चा कम्युनिस्ट पार्टीहरूको युगीन अभिभारा हो।

हामी दुबै पक्षका नेताकार्यकर्तालाई प्रश्न गर्न चाहान्छौँ

आजको विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने ?

पुँजीवादले थोपरेका आर्थिक,राजनीतिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक संकटबाट नेपाललगायत विश्व समुदायलाई कसरी मुक्त गर्ने?नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कसरी विजय गराउने?श्रमजीवी जनताको सत्ता प्राप्ति सम्भव छ कि छैन?

नेपालको विशिष्ट राजनीतिक, भौगोलिक, भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक परिस्थितिअनुकूल वर्गसंघर्षको मोडेल कस्तो हुनसक्छ?

बदलिएको परिस्थितिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना सम्भव छ? सम्भव छ भने त्यसको आजको चरित्र कस्तो हुन्छ? त्यसको निरन्तर विकास रक्षा कसरी गर्ने?कम्युनिस्ट पार्टीमा हुने विभाजनको शृङ्खला तोडेर एकताको नयाँ शृङ्खला सुरु गर्न सम्भव छ कि छैन? कम्युनिस्ट पार्टीमा पैदा हुने अन्तरविरोधको स्वस्थ समाधान कसरी गर्ने?जनवादी केन्द्रीयतालाई बुझ्ने र लागू गर्ने सन्दर्भमा हुँदै आएका मतभेदको समाधान के हो?जनतासँगको ‘माछा र पानी’ झैँ जीवित सम्बन्ध पुनःस्थापित गर्ने कार्यक्रमहरू के-के हुन्? क्रान्तिकारी पार्टी, शक्ति, समूह र व्यक्तिहरूलाई एकताबद्ध गर्ने आधार के हुन्?यी प्रश्नहरूको सैद्धान्तिक र ओठे जवाफ होइन, प्रयोग र व्यवहारमार्फत जवाफ नेपालको कम्युनिस्ट आन्दोलनले दिनुपर्नेछ।
इतिहासको कठघरामा अन्ततः व्यक्तिहरू मात्र उभिने छैनन्; हाम्रा राजनीतिक कर्महरू उभिनेछन्।

मार्क्सवादले व्यक्तिलाई सामाजिक–आर्थिक संरचना र ऐतिहासिक प्रक्रियाबाट अलग गरेर हेर्दैन। त्यसैले आजको संकटलाई केवल व्यक्तिको कमजोरी वा नेतृत्वको व्यक्तिगत टकरावका रूपमा बुझेर पुग्दैन। यसको संरचनात्मक, वैचारिक, राजनीतिक र संगठनात्मक कारणको गहिरो समीक्षा आवश्यक छ।

विभाजनको घाउलाई अझ गहिरो बनाउने कि त्यसबाट शिक्षा लिएर नयाँ एकताको आधार निर्माण गर्ने ?

विभाजनलाई नयाँ कम्युनिस्ट आन्दोलन निर्माणको बाध्यात्मक परिस्थिति ठानेर जिम्मेवारीबोधसहित अगाडि बढ्ने कि विभाजनमा खुसी मनाउने?यसको फैसला आजका क्रान्तिकारी कम्युनिस्ट नेतृत्व र कार्यकर्ताहरूको हातमा छ। राष्ट्रिय विपत्तिको यस घडीमा पीडित जनताको उद्धारसँगै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उद्धार, पुनर्गठन र रूपान्तरण पनि उत्तिकै ऐतिहासिक आवश्यकता बनेको छ।

दुनियाँभर रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई पुनः श्रमजीवी जनता र उत्पीडित वर्गको आशा, विश्वास र संघर्षको अग्रदस्ता बनाउने जिम्मेवारी आजको पुस्ताका कम्युनिस्टहरूको काँधमा छ।यो जिम्मेवारीबाट विमुख हुने छुट कसैलाई छैन।राष्ट्रिय विपत्ति र जनता दुःखमा हुँदा कम्युनिस्टहरू आफ्नै विवादमा नरमाएको भए जाती हुने थियो।कम्युनिस्ट पार्टीहरु जनताको सेवा गर्ने साधन बनाइनुपर्छ।कम्युनिस्ट पार्टीले जनता बाहेक अरु सोच्नु हुँदैन।जनताको आँसु पुछ्ने, उनीहरूको घर उठाउने र संकटको सामना गर्न अग्रपङ्क्तिमा उभिने शक्ति बन्नुपर्छ।त्यसैले नेकपा (बहुमत) का दुवै पक्षलाई हाम्रो आग्रह छ—आफ्ना–आफ्ना गल्तीबाट शिक्षा लिऊन्, आत्मसमीक्षा गरून्, रूपान्तरणको बाटो रोजून् र कम्युनिस्ट आन्दोलनका लक्ष्य, उद्देश्य तथा ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा अगाडि बढून्।आज देशलाई विभाजित कम्युनिस्ट केन्द्रहरूको संख्या होइन, जनताको दुःखमा उभिने, विचारमा स्पष्ट, संगठनमा अनुशासित, व्यवहारमा इमानदार र संघर्षमा दृढ नयाँ क्रान्तिकारी कम्युनिस्ट एकताको आवश्यकता छ। यही राष्ट्रिय विपत्तिको घडीमा पीडित जनताको उद्धार गरौँ, कम्युनिस्ट आन्दोलनको पनि उद्धार गरौँ र विभाजनको शृङ्खला तोड्दै नयाँ एकताको शृङ्खला निर्माण गरौँ।
सम्पादकीय

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...