काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव रोक्न वैकल्पिक आपूर्ति व्यवस्था अघि बढाइएको छ।
नेपाल आयल निगमको अनुमतिपछि उपत्यकाका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने तयारी थालेका छन्।
राजधानीमा दैनिक खपत हुने ठूलो परिमाणको ग्यास आपूर्ति प्रभावित हुन नदिन बाहिरी जिल्लाका उद्योगबाट ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाइएको व्यवसायीहरूले बताएका छन्।
कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति निरन्तर राख्ने तयारी गरिएको छ। व्यवसायीहरूले तत्काल ग्यास अभावको अवस्था नरहेको भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेका छन्।