काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा पार्टीका केही सांसदले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
पार्टीको बैठकमा लामिछानेले विपद्को समयमा प्रभावित क्षेत्रमा पुगेर अनावश्यक प्रचार, भिडियो निर्माण तथा स्टन्ट गर्ने प्रवृत्ति रोक्न सांसदहरूलाई निर्देशन दिएका हुन्। उद्धार तथा राहतमा खटिएका निकाय र स्थानीय प्रतिनिधिसँग समन्वय गर्नुको सट्टा उनीहरूलाई दबाब दिने वा अभद्र व्यवहार गर्ने गुनासो आएको भन्दै उनले सांसदहरूलाई सचेत गराएका थिए।
लामिछानेले बाढी प्रभावित क्षेत्रमा राजनीतिक प्रचारभन्दा सहयोग र समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बैठकमा केही सांसदका गतिविधि र सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिर हेर्दा आफूलाई असहज लागेको उल्लेख गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे।
उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘हामीले यस्तो अवस्थामा निकै संयमित भएर काम गर्नुपर्छ। प्रभावित क्षेत्रमा पुगेर देखावटी काम गर्नेभन्दा सक्ने सहयोग गरौँ। काम गर्न नसक्ने हो भने आफ्नो ठाउँबाट सहयोग गरौँ, तर उद्धारमा खटिएकाहरूलाई असहज बनाउने गतिविधि नगरौँ।’सभापति लामिछानेले सांसदहरूलाई सामाजिक सञ्जाल प्रयोगमा समेत सावधानी अपनाउन निर्देशन दिएका छन्।
विशेषगरी पुष्टि नभएका सूचना, अत्यधिक संवेदनशील तथा विभत्स दृश्यहरू जथाभावी पोस्ट वा सेयर गर्दा त्यसले जनमानसमा थप त्रास सिर्जना गर्न सक्ने उनको भनाइ थियो।
उनले सामाजिक सञ्जाल व्यक्तिगत अभिव्यक्ति दिने माध्यम मात्र नभई ठूलो संख्यामा नागरिकले सूचना प्राप्त गर्ने स्रोतसमेत भएकाले हरेक सामग्री सार्वजनिक गर्नुअघि त्यसको सत्यता र प्रभावबारे विचार गर्नुपर्ने बताए।
बैठकमा लामिछानेले पार्टीका केही सांसदलाई यसअघि पनि पटक–पटक सचेत गराउँदा उस्तै गतिविधि दोहोरिएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले केही महिला सांसदसहित पार्टीका नेताहरूलाई विगतमा सम्झाउने प्रयास गरे पनि सुधार नआएको भन्दै अब पार्टीका सबै जनप्रतिनिधिले विपद्को संवेदनशीलता बुझेर जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए।