नुवाकोट स्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। उक्त प्वालबाट डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको छ।
हाल ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ र प्वाल फराकिलो पार्ने कामसमेत एकसाथ अघि बढाइएको छ। कठिन र जोखिमपूर्ण अवस्थाबीच सुरक्षाकर्मी तथा प्राविधिक टोली उद्धारमा अहोरात्र खटिएका छन्।