काठमाडौं । नेपाल टेलिकमले बाढी तथा विपद्का कारण प्रभावित बनेको त्रिशूली–३ ‘ए’ साइट टावर र तुप्चे बीटीएस पुनः सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमका अनुसार त्रिशूली–३ ‘ए’ साइटको टावरमार्फत सेवा पुनः सुचारु भएपछि जलविद्युत् आयोजनाको सुरुङभित्र भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज भएको छ।
टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीकै सवारीसाधन तथा करिब एक घन्टा भरियामार्फत साइटसम्म पुर्याइएको थियो। त्यसपछि प्राविधिक परीक्षण सम्पन्न गरी टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।
त्यसैगरी, तुप्चे बीटीएस पनि आजदेखि सञ्चालनमा आएको छ। आवश्यक जेनेरेटर र इन्धनसहित प्राविधिक टोली हेलिकप्टरमार्फत साइटमा पुगेपछि बीटीएस सञ्चालनमा ल्याइएको हो।
तुप्चे बीटीएस सञ्चालनमा आएसँगै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्र, बेत्रावती तथा कालिकास्थानका केही भागमा नेपाल टेलिकमको सञ्चार सेवा पुनः सुचारु भएको छ।
विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्न नेपाल टेलिकमका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेका छन्।
टेलिकमले संकटको समयमा आवश्यक सहयोग तथा आपत्कालीन सम्पर्कका लागि१२३४, १०० र १११४नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।