चितवन । रसुवाको बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ चाँदबेला घर भई भरतपुर–२ पोखरा बसपार्क क्षेत्रमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा शवबाट सुनको मुन्द्रा निकालिरहेको देखिएपछि प्रहरीले भिडियोको आधारमा उनीहरूको पहिचान गरेको थियो। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।