दाङ । रसुवा तथा नुवाकोट क्षेत्रमा आएको बाढी तथा पहिरोपछि दाङका विभिन्न स्थानका ३३ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार हालसम्म ५ जना सम्पर्कमा आएका छन् भने २८ जनाको खोजी तथा उद्धार हुन बाँकी रहेको छ।
प्रशासनले बिहीबार अपराह्न ४ बजे सार्वजनिक गरेको थप विवरणअनुसार सम्पर्कविहीनमध्ये तुलसीपुर उपमहानगरपालिका–६ का रन्जित वली रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत रहेको जनाइएको छ।
त्यस्तै तुलसीपुर–२ का देवबहादुर गाहा मगर, तुलसीपुर–१९ का जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार र गोपाल पुन मगर सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।
घोराही उपमहानगरपालिका–१२ मा बस्दै आएका तथा रुकुमपूर्व–९ का मिलन श्रेष्ठ, तुलसीपुर–१३ हात्तिखौवाकी ३० वर्षीया नारायणी पराजुली, तुलसीपुर–६ का ४२ वर्षीय नेपाली सेनामा कार्यरत टेकबहादुर राना पनि सम्पर्कविहीन छन्।
त्यसैगरी सल्यान त्रिवेणी गाउँपालिका–५ घर भई दाङ तुलसीपुरमा बस्दै आएका प्रेम महतरा र २७ वर्षीय बादल महतरा पनि सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। साथै आफन्त तथा परिवारजनलाई उनीहरूको अवस्थाबारे जानकारी भए प्रशासनलाई उपलब्ध गराउन आग्रह गरिएको छ।