काठमाडौँ । नेपाल–तिब्बत सीमाना नजिकै बुधबार आएको विनाशकारी बाढी हिमनदीको तल्लो भाग भत्किएर ठूलो परिमाणमा हिउँ, चट्टान र माटो तलको उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्।
स्याटेलाइट तस्बिरको अध्ययन गरेका विज्ञहरूका अनुसार करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमनदीको तल्लो भाग भत्किएर करिब १ हजार २०० मिटर तल उपत्यकामा खसेको देखिन्छ। यस क्रममा ठूलो परिमाणमा चट्टान र माटोसमेत मिसिएर तीव्र गतिमा बाढी आएको हुन सक्ने बताइएको छ।
हिमनदी भत्किनुको यकिन कारण भने अझै खुलिसकेको छैन। बाढी आउनुभन्दा केही मिनेटअघि त्यस क्षेत्रमा भूकम्प गएको र त्यसले हिमपहिरो निम्त्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, विज्ञहरूले भूकम्प नै मुख्य कारण हो भन्ने निष्कर्षमा पुग्न अझै थप अध्ययन आवश्यक रहेको बताएका छन्।
भूगर्भविद्हरूले पछिल्लो समय तीव्र रूपमा हिउँ पग्लिएको देखिएको भन्दै तापक्रम वृद्धि, जलवायु परिवर्तन तथा सम्भावित मानवीय गतिविधिले समेत हिमनदी अस्थिर बनाउन भूमिका खेलेको हुन सक्ने बताएका छन्।
यस विपद्मा हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ। नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ।
बाढीका कारण रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदी प्रणालीमा पानी, लेदो र ठूला ढुंगासहितको शक्तिशाली भेल आएको थियो। यसको प्रभावले तल्लो तटीय क्षेत्रमा छोटो समयमै नदीको सतह अस्वाभाविक रूपमा बढेको बताइएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा बाढी, पहिरो, हिमपहिरो तथा खडेरीको आवृत्ति र तीव्रता बढिरहेको छ। जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिँदा आगामी दिनमा यस्ता विपद्को जोखिम अझ बढ्न सक्ने विज्ञहरूको चेतावनी छ।
रसुवामा आएको बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ। एजेन्सी