जाजरकोट – जाजरकोटमा लगातार भइरहेको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा घर तथा अस्थायी टहरामा क्षति पुगेको छ। पहिरोमा परी ७ जना घाइते भएका छन्।
जिल्लाको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा पहिरो खसेपछि स्थानीय प्रभावित भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ भने थप उपचार आवश्यक परेकालाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, पहिरोका कारण भेरी नगरपालिका–३ स्यालामा एउटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुईवटा अस्थायी टहरा समेत पहिरोले भत्काएको जनाइएको छ।
घटनापछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण थप पहिरो तथा क्षतिको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।