काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर बहस तीव्र भइरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी कठिन परिस्थितिमा रहेका बेला जिम्मेवारीबाट पन्छिने आफ्नो स्वभाव नभएको बताए। उनले आफू कार्यकर्ताको मतबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गर्दै अर्को महाधिवेशनसम्म नेतृत्वमा रहने दाबी गरे।
पार्टी कार्यालयमै बसेर अध्यक्ष परिवर्तनका लागि हस्ताक्षर संकलन गरिएको विषयप्रति ओलीले असन्तुष्टि जनाए। उनले यस्तो गतिविधिले पार्टीको अनुशासन र संगठनात्मक विधिमाथि प्रश्न उठाउने बताए।
ओलीले पार्टीभित्र देखिएको असन्तुष्टिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्तिप्रति समेत आपत्ति जनाए। पार्टीमा रहने हो भने नीति, निर्णय र अनुशासन पालना गर्नुपर्ने उनको भनाइ थियो।
उनले असन्तुष्ट नेताकार्यकर्तालाई पार्टीको विधि स्वीकार गरेर अघि बढ्न वा असहमत भए अन्य विकल्प रोज्नसमेत चुनौती दिए।
ओलीले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप व्यवस्थित र अनुशासित बनाउने संकेत गर्दै विधानविपरीत गतिविधि गर्नेहरूमाथि संगठनात्मक कारबाही हुन सक्ने चेतावनी दिए।
एमालेभित्र एकातर्फ वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा आवाज उठिरहेको छ भने अर्कोतर्फ नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा पनि सार्वजनिक हुँदै आएको छ। यस्तो अवस्थामा ओलीको पछिल्लो अभिव्यक्तिले एमालेको आन्तरिक शक्ति संघर्षलाई थप चर्चामा ल्याएको छ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको माग र पार्टी अनुशासनको विषय कसरी उठ्छ भन्नेले एमालेभित्रको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिने देखिएको छ।