दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीबीच आपसी सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धा बढाउने उद्देश्यले ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ।
घोराहीको भरतपुर रोडस्थित पुरानो हाउस फुटसल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रतिष्ठानसँग आबद्ध चिकित्सक, कर्मचारी तथा विद्यार्थीका १० टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन अस्पताल निर्देशक तथा निमित्त कार्यालय प्रमुख सह–प्राध्यापक डा. सुरेश रसाइलीले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा डा. रसाइलीले व्यस्त कार्यतालिकाबीच खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यसँगै सहकर्मीबीचको सम्बन्ध र टीम भावना बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो।
दुई दिनसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई उपकुलपति प्राडा अजयकुमार मिश्रबाट पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।