दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जारी गरेको सूचनाअनुसार तुलसीपुर उपमहानगरपालिका–५ अन्तर्गत रहेको तुलसीपुर नक्सा नं. ५/घ, कित्ता नं. २६८३, क्षेत्रफल ०–१६–६२.५४ वर्गमिटर जग्गामा अनाधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गरिएको उल्लेख गरिएको छ ।
कार्यालयले १५ दिनभित्र उक्त जग्गामा बनेका घरटहरा तथा अन्य भौतिक संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रियामार्फत संरचना हटाइने चेतावनी सूचना मार्फत दिइएको छ ।
यस विषयमा स्थानीय बासिन्दाले भने आफूहरूलाई कुनै समन्वय नगरी एकतर्फी रूपमा निर्णय गरिएको भन्दै विरोध जनाएका छन् । उनीहरूका अनुसार यसअघि टोल विकास संस्थाले पनि बस्ती खाली गर्ने सूचना जारी गरेको थियो । तर प्रभावित परिवारसँग छलफल नै नगरी टोल विकास संस्थाका अध्यक्षले निर्णय गरेको भन्दै स्थानीय असन्तुष्ट बनेका थिए ।
बस्तीमा बसोबास गर्दै आएका परिवारहरूले पहिले स्थायी व्यवस्थापन र बैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । हामी भूमिहीन हौं, पहिले बस्ने व्यवस्था गरियोस् अनि मात्रै बस्ती खाली गर्छौं, स्थानीयको भनाइ छ ।
स्थानीयले राज्यले आफूहरूलाई “शरणार्थी जस्तो व्यवहार” गरेको आरोप लगाउँदै दीर्घकालीन समाधान बिना हटाउन खोजिएको गुनासो गरेका छन् ।
यता प्रहरी प्रशासनले भने सरकारी स्वामित्वको जग्गा संरक्षण गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै सूचनाअनुसार प्रक्रिया अगाडि बढाइने जनाएको छ ।