गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना नेता–कार्यकर्ता तथा समर्थक माथि राज्यद्वारा दमन, निगरानी र पक्राउको धम्की दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा पार्टीसँग आवद्ध व्यक्तिहरूको घरमा पुगेर घेराउ गर्ने, छापा मार्ने, दुःख दिने तथा पक्राउको धम्की दिने कार्य भइरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरिएको छ। अन्यथा देशव्यापी प्रतिकारात्मक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत पार्टीले दिएको छ। पार्टीले आफूहरू देश, जनता, मजदुर र किसानको पक्षमा निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै राजनीतिक गतिविधिमाथिको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।
त्यस्तै, पार्टीका केही केन्द्रीय सदस्यहरूको घरमा समेत छापा मारिएको र दुःख दिने कार्य भएको दाबी गर्दै त्यसलाई तत्काल रोक्न सरकारसँग आग्रह गरिएको छ। मानवअधिकारकर्मी, पत्रकार तथा बुद्धिजीवीहरूलाई समेत आवाज उठाउन अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिको अन्त्यमा आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ।