कालिकाेट । कालिकोटबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका बिप्लव नेतृत्वकाे नेकपा माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथो स्थानमा सीमित भएका छन्। निर्वाचनअघि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले सबै दल एकजुट भए पनि आफूले चुनाव जित्ने दाबी गरेका थिए।
तर अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रकाण्ड अपेक्षित प्रतिस्पर्धामा आउन सकेनन्। चुनावमा महेन्द्रबहादुर शाही ११ हजार ३३८ मतसहित विजयी भए। नगीन्द्रबहादुर शाही ले १० हजार ३५२ मत ल्याउँदा हर्षबहादुर बम ले ७ हजार १३३ मत प्राप्त गरे। प्रकाण्डले भने ४ हजार ५९९ मत मात्रै पाए।
१८ वर्षपछि निर्वाचनमा फर्किएका प्रकाण्डले गुलाफ चिन्ह लिएर चुनाव लडेका थिए। एक समय माओवादी आन्दोलनका कर्णाली क्षेत्रका प्रभावशाली नेतामध्ये मानिने उनी पछिल्लो समय विप्लव नेतृत्वको पार्टीमा सक्रिय छन्।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट २०६४ सालको संविधानसभा चुनाव जितेका प्रकाण्ड पछि पार्टी छाडेर विप्लवसँगै अलग भएका थिए। त्यसयता उनको समूहले लामो समय चुनाव बहिष्कार गर्दै आएको थियो।