काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केही यस्ता उम्मेदवार मैदानमा छन्, जो चुनाव जिते पनि संसद छिर्न पाउने छैनन्। फौजदारी मुद्दा विचाराधीन अवस्थामा रहेका तर थुनामुक्त उम्मेदवारलाई निर्वाचन कानूनले उम्मेदवार बन्ने छुट दिएको भए पनि सफाइ नपाएसम्म सांसदको हैसियत पाउने प्रावधान छैन।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ३४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दिएका छन् भने केहीको उम्मेदवारी खारेज भइसकेको छ। कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, नवलपरासी–२ बाट कांग्रेसका देवेन्द्रराज कँडेल र काठमाडौं–१० बाट मितेरी पार्टीकी सुमित्रा बस्नेतको उम्मेदवारी रद्द भएको छ।
यस्तै, फौजदारी मुद्दा विचाराधीन रहेका कारण चुनाव जिते पनि सांसद बन्न नपाउने सूचीमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र नेकपाका उम्मेदवार बलदेव चौधरी रहेका छन्। मुद्दाको अन्तिम फैसला नआएसम्म उनीहरू संसद प्रवेशबाट वञ्चित रहनेछन्।