दाङ — नेपाल मगर संघ घोराहीले “दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८२” आयोजना गर्ने भएको छ। संघले पुस २५ देखि माघ १० गतेसम्म घोराही ट्राफिक चोक नजिक मेला सञ्चालन गर्ने घोषणा गरेको हो।
मगर समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष बेदबहादुर बुढा मगरले जानकारी दिनुभयो। महोत्सवलाई व्यवस्थित गर्न अध्यक्ष मगरको संयोजकत्वमा मूल आयोजक समिति तथा ९ वटा उपसमिति गठन गरिएको छ।
मेलामा जातिगत भेषभूषा र खानाका परिकारका स्टल, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै डान्स आइडल, टिकटक र दोहोरी प्रतियोगिता पनि सञ्चालन हुनेछन्।
महोत्सवको संरक्षक घोराही उपमहानगरपालिका, दाङ रहेको छ।